वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व पञ्चमी - ५
वन जंगलको ऐतिहासिक पृष्ठभूमि
डडेल्धुरा जिल्लामा परापूर्व कालमा वन जंगलको स्थिती अत्यन्त राम्रो भएको अनुमान भित्री मधेश क्षेत्रको गोदाममा काठ संकलन गरी अंग्रेजहरुले भारतमा रेलका लिग निर्माण कार्यमा यहाँको साल, अस्ना लगायतका प्रजातीका काठहरु महाकाली नदी हुँदै ओसार-पसार गर्दथे भन्ने स्थानीयहरुको भनाईबाट प्रष्ट हुन्छ । वि.सं. २०१३ सालमा निजी वन जंगलको राष्ट्रियकरण हुँदा र भित्री मधेष क्षेत्रमा वि.सं. २०२० सालतिर पहाडी जिल्लाबाट वसाई- सराई गरी आउने मानिसहरुका कारण वन अतिक्रमणबाट वन विनाश हुँदै गयो । आ.व. २०३५/०३६ बाट सामुदायिक वन विकास कार्यक्रम शुरु भई पंचायती वन र पंचायत संरक्षित वन स्थापना गरी व्यापक रुपमा वृक्षारोपण कार्यको थालनी हुन थाल्यो ।
वि.सं. २०३९ सालसम्म बैतडी वन डिभिजन कार्यालय अन्तर्गतका २ वटा रेन्ज कार्यालयहरु उत्तर रेन्ज र दक्षिण रेन्ज कार्यालयहरुबाट वन संरक्षण र विकास हुँदै आईरहेकोमा वि.सं. २०४० सालमा जिल्ला वन कार्यालय, डडेल्धुराको स्थापना भई उक्त कार्यहरुमा थप तिव्रता आयो । वन विकासको क्रममा आ.व. २०४७/०४८ बाट विगतमा पंचायती वन तथा पंचायत संरक्षित वन अन्तर्गत हुँदै आएको वृक्षारोपण कार्य सामुदायिक वृक्षारोपण नामाकरण गरी संचालन हुन थाल्यो र आ.व. २०४८/०४९ बाट वन विकास गुरुयोजना, २०४६ को भावना अनुसार नै स्थानीय उपभोक्ता समुहबाटै सो कार्य संचालन भयो । त्यस पछिका वर्षहरुमा भने उपभोक्ता समुहमा आधारित सामुदायिक वन विकास कार्यक्रमले क्रमशः विरुवा उत्पादन र वृक्षारोपण कार्यलाई भन्दा भइरहेका वन जंगललाई संरक्षण कार्यमा वढी जोड दिएको थियो । वन ऐन २०४९ लेस्थानीय उपभोक्ताबाट हुने वन व्यवस्थापनलाई जोड दिएको थियो भने वन ऐन २०७६ र वन नियमावली २०७९ ले पनि उक्त ब्यबस्थापनलाई जोड दिएको देखिन्छ ।